काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा पनि आज बिहान ९ बजेदेखि मतदान जारी रहेको छ ।
निर्वाचन कार्यालयका अनुसार बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरिसकेका छन् । जसमा प्रदेशसभा सदस्यतर्फ महिला १३ र पुरुष २५ गरी जम्मा ३८ र स्थानीय तहतर्फ महिला ४९ र पुरुष ८१ जम्मा १३० जनाले मतदान गरिसकेका छन् । कर्णालीबाट २ जना राष्ट्रियसभा सदस्य चुनिँदै छन् ।
त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा छ । उनीहरूका २–२ उम्मेदवार गरी २ सिटका लागि ४ जना प्रतिस्पर्धामा छन् । कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मदेवार छन् भने नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन् ।
कर्णाली प्रदेशमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको पदावधि फागुनमा सकिँदैछ । बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।