काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुल्ने भएको छ। पाँच महिनादेखि बन्द रहेको मन्दिर यसै हप्तादेखी खोल्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।
मन्दिर खोल्नका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिएको कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए ।
कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज)को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए ।