काठमाडौं। नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन आज चीन जाने भएको छ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको जानकारी दिए।
नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। जहाजले भोलि गते खोप ल्याउने छ। यस्तै असार ३१ गते पुन: बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुन: जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।
चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताए।