काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा घातक ‘निपा भाइरस’ फैलिएपछि नेपाल लगायत एसियाका अधिकांश मुलुक चिन्तित बनेका छन् ।
खासगरि नेपालमा निपा भाइरस सर्नसक्ने जोखिम बढेको छ । भारतसँगै बंगलादेश कम्बोडिया, घाना, इन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाइल्यान्डमा पनि निपा भाइरस देखिइसकेको छ। हाल भारतको पश्चिम बंगाल (कोलकाता)मा आउटब्रेक भएको छ। भारतमा आउटब्रेक भएपछि नेपाल पनि निपा भाइरसको जोखिममा परेको छ।
निपा भाइरस नेपालमा हालसम्म पुष्टि भएको छैन। तर, जोखिम भने उच्च छ । एकातर्फ दिनहुँ भारत र नेपालका मानिस आवतजावत गर्छन भने अर्कोतर्फ निपा भाइरस सार्ने चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले नेपाल निपा भाइरस संक्रमणको जोखिममा रहेको हो ।
भाइरसको जोखिम बढेसँगै नेपालले भारतसँग सिमा जोडिएक नाका र विमानस्थलहरूमा स्वास्थ्य जाँच (स्क्रिनिङ) कडा गरेको छ ।
के हो निपा भाइरस ?
निपा भाइरस जनावरबाट मानिसमा सर्ने जुनोटिक भाइरस हो । यो भाइरस मानिसमा निपा संक्रमित चमेरो, बङ्गुर वा संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा आएमा सर्छ ।
जनावरबाट मानिसमा सर्नुका साथै निपा भाइरस मानिसबाट मानिसमा पनि सर्छ । खाँदा, सँगै बस्दा, संक्रमित व्यक्तिको सम्र्पकमा आउँदा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ ।
साथै यो भाइरस संक्रमित जनावरको सम्पर्कमा आएका मानिस तथा भाइरसको संक्रमण देखिएका चरा तथा जनावरले टोकेको वा विष्टा गरेको फलफूलबाट पनि मानिसमा सर्न सक्छ । निपा भाइरस मृत्युदर बढी भएको भाइरसमा पर्छ। सामान्य ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्याबाट लक्षण सुरु भई कमजोरी हुने र मानसिक असन्तुलन पार्ने लक्षण देखिन्छ ।
निपा भाइरसले मस्तिष्कमा असर पार्ने हुँदा यसलाई जटिल प्रकारको भाइरस पनि मानिन्छ । केही व्यक्तिमा लक्षण देखा परेको ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् ।
भाइरसको संक्रमणविरुद्ध अहिलेसम्म कुनै पनि औषधि र खोप पत्ता नलागेकाले संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना उधिक्तम हुन्छ । यदी निपा भाइरस मानिसमा फैलियो भने यसले गम्भीर सङ्क्रमण निम्त्याउन सक्छ, जसले गर्दा मृत्यु पनि हुन सक्छ ।