काठमाडौँ । इजरायलले गाजा पट्टीभर गरेको हवाई आक्रमणको शृंखलामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु भएको स्थानीय उद्धार अधिकारीहरूले जनाएका छन् ।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार मारिनेमा महिला र बालबालिकासमेत छन् । निकायले जनाएअनुसार दक्षिणी शहर खान युनिसमा विस्थापितहरू बसिरहेको एउटा टेन्टमा हेलिकोप्टरबाट आक्रमण गरिएको थियो ।
प्यालेस्टिनीहरूका अनुसार गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामको दोस्रो चरण यसै महिना लागू भएयता यस्ता आक्रमण सबैभन्दा भीषण रहेका छन् ।
इजरायली सेनाले भने शुक्रबार हमासले युद्धविराम सम्झौता उल्लंघन गरेपछि त्यसको जवाफस्वरूप यी आक्रमण गरिएको दाबी गरेको छ ।
गत वर्षदेखि युद्धविराम लागू भएयता इजरायल र हमासले एक–अर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।