काठमाडौँ । पछिल्लो समय सर्लाही-४ मा दुई वटा नारा मात्रै सुनिने गरेका छन्- ‘अबकी बार गगन सरकार, अबकी बार बालेन सरकार।’ निर्वाचन क्षेत्र सर्लाही-४ मा चुनावी माहोल निकै तातेको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको आगमनले सर्लाही ४ को चुनावी माहोल निकै तातेको हो । गगन थापासँग राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेश सिंह चुनावी मैदानमा उत्रिएका छन् । चुनावी माहोल तात्नुको कारण हो - अमरेश सिंहले गरेको बाचा । यदी गगन थापाले सर्लाही-४ बाट चुनाव जितेको खण्डमा आफूले आत्महत्या गर्ने अमरेशले बाचा गरिसकेका छन् ।
उता कांग्रेसका नेता कार्यकर्ताले सर्लाही ४ बाट गगन थापाको जित सुनिश्चित रहेको दाबी गरेका छन् । नेपाली कांग्रेसले गगनलाई भावि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । भावि प्रधानमन्त्रीका उम्मेदवार थापा र रास्वपाका अमरेशबीच सर्लाही-४ मा निकै टक्कर हुने देखिन्छ । चुनावी प्रचारमा अमरेशले ‘अब की बार बालेन’ सरकार लेखिएको पोष्टर बोक्ने गरेका छन् ।
रास्वपाबाट बालेनलाई भावि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको छ । उता कांग्रेसका कार्यकर्ताले पनि ‘अबकी बार गगन सरकार लेखिएको पोष्टर’ बोकिरहेका छन् । गगन थापा र अमरेशका लागि यस पटकको चुनाव जित हारको मात्र नभइ प्रतिष्ठाको विषय पनि बनेको छ । कांग्रेसभित्र विद्रोह गरेर पार्टी सभापति आफ्नो हातमा ल्याएका गगन थापाले यदी चुनाव हारेको खण्डमा उनको राजनीति नै धरापमा पर्नेछ ।
तत्कालिन सभापति शेरबहादुर देउवाले चुनावपछि महाधिवेशन गरौँ, अहिले महाधिवेशनको पछि लागेको खण्डमा चुनावमा धक्का लाग्ने सुझाव दिएका थिए । तर, गगन थापाले विद्रोह गर्दै विशेष महाधिवेशनबाट पार्टी सभापति आफ्नो हातमा ल्याएर चुनावमा होमिएका छन् । अर्कोतर्फ उनले चुनाव क्षेत्र नै परिवर्तन गरेका छन् ।
२०७९ को निर्वाचनमा गगन थापा काठमाडौँ ४ बाट विजयी भएका थिए । तर, यस पटक भने आफ्नै गढ भएको काठमाडौँ-४ मा असुरक्षित महशुस भएपछि गगन थापा सर्लाही पुगेका हुन् । तर, सर्लाही-४ मा अमरेशले उनलाई टक्कर दिने भएका छन् । यदी अमरेशले गगन थापालाई हराउन सकेको खण्डमा अमरेशको झनै चर्चा बढ्नेछ ।
सर्लाही-४ मा २०४८ सालदेखि अहिलेसम्म कांग्रेस बाहेकका उम्मेदवारले दुई पटक मात्रै जितेको अवस्था छ । २०४८, २०५१ र २०५६ सालमा कांग्रेसले जित हात पारेको थियो । २०६४ सालको चुनावमा मधेसी जनअधिकार फोरमका शिवपुजन यादवले बाजी मारे। २०७० देखि २०७९ सालसम्म अमरेश सिंहले जितेका थिए ।
लगातार दुई निर्वाचनमा कांग्रेसकै उम्मेदवारका रुपमा बाजी मारेका अमेरशलाई २०७९ सालको निर्वाचनमा कांग्रेसले टिकट दिएन । त्यसपछि अमरेशले स्वतन्त्र उम्मेदवारी दिँदा पनि अपराजित यात्रा कायमै राखे। फेरि चौथो पटक अमरेशले जित हात पार्लान या गगनले बाजी मार्लान ? यो विषय निकै रोचक बनेको छ ।