काठमाडौँ । नेपालको तेक्वान्दो खेलको इतिहासमा नेपाली खेलाडीले पहिलोपटक विश्व तेक्वान्दो महासंघ (डब्ल्यूटीएफ) बाट अवार्ड पाएका छन्।
नेपाल तेक्वान्दो संघका अनुसार पहिलोपटक नेपाली खेलाडी कविराज नेगी लामाले विश्व तेक्वान्दो महासंघबाट कोच अफ द इयर २०२५ को अवार्ड जितेका हुन्।
नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक लामालाई सोमबार (फ्रेबुअरी २) मा संयुक्त अरब इमिरेट्स, फुजैराहको एमिरेट्स बलरुम अल बहर होटल एन्ड रिसोर्टमा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ अन्तर्गत पारा तेक्वान्दो कोच अफ द इयर अवार्ड प्रदान गरिएको हो।
नेपाली पारा तेक्वान्दो खेल विकास र विस्तारमा पुर्याएको योगदान मूल्यांकन गरी कविराजलाई वर्ल्ड तेक्वान्दो टेक्निकल कम्मिसनले कोच अफ द इयर २०२५ मा छनोट गरी सिफारिस गरेको थियो।
सोही आधारमा नेगीलाई विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. चाउ चुङ-वनले तेक्वान्दो खेलको सबैभन्दा ठुलो तथा प्रतिष्ठित पारा तेक्वान्दो कोच अफ द इयर अवार्ड प्रदान गरेका हुन्।