आइतवार, श्रावण २४ गते २०८३

चुनावको मुखैमा ग्यासको हाहाकार, जनता भोकभोकै, कालोबजारी मौलाउँदा अन्तरिम सरकार बेखबर !

मंगलवार , माघ २०, २०८२

काठमाडौँ । चुनाव आउन अब जम्मा ३० दिन बाँकी छ । चुनावको मुखैमा बजारमा भने ग्यासको हाहाकार मच्चिएको छ । पछिल्लो दुई सातादेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको संकट बढ्दै गएको हो ।

उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर एउटा पसलबाट अर्को पसल भौँतारिरहेका छन् । डेरामा बसेका विद्यार्थीहरु झनै मारमा परेका छन् । कतिपय विद्यार्थीहरुले भोकभोकै बस्नु परेको छ । दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै धाउने गरेका छन् ।

कार्यालयमै पुग्दा पनि ग्यास नपाएपछि उपोभोक्ताहरु रित्तो सिडिन्डर काँधमा हालेर घर फर्किन्छन् । बजारमा देखिएको ग्यास अभावको सबैभन्दा ठूलो मारमा एउटा मात्र सिलिन्डर हुने विद्यार्थी र न्यून आय भएका परिवार परेका छन् । दुई वा त्यसभन्दा बढी सिलिन्डर हुनेलाई खासै समस्या नभए पनि एउटैको भरमा बस्नेहरूको त भान्सा नै बन्द भएको छ ।

यही मौका छोपेर ग्यास व्यपारीहरुले पनि चौकामा छक्का हानिरहेका छन्, अर्थात उनिहरुले कालोबजारी गरिरहेका छन् । ग्यास पसलेहरुले भएको ग्यास पनि लुकाएर कालोबजारी गरिरहेका हुन् । ‘जसले तोकिएको मुल्यभन्दा बढि पैसा दियो उसलाई सुटुक्क ग्यास दिने, जसले तोकिएकै पैसा दिन खोज्यो उसलाई ग्यास छैन, चार पाँच दिनमा आउनु भन्दै फर्काउने’ काम भइरहेको छ  । काठमाडौँ उपत्यकाभर कालोबजारी मौलाएको छ । यता नेपाल आयाल निगमले भने बजारमा ग्यासको समस्या नभएको दाबी गरेको छ । तर, कालोबजारी मलाउदा ग्यास आपुर्तिमा झनै संकट परेको देखिन्छ । 

ग्यास कालोबजारी भइरहँदा पनि अनुगमन गर्ने सरकारी निकाय मूकदर्शक बनेको छ । जेनजी आन्दोनलपछि बनेको नागरिक सरकार पनि बेखर बन्दा भोकभोकै बस्नु परेका उपभोक्ताहरु भने निकै चिन्तित बनेका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार