काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित हात पारेको छ ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आसिफ शेखले विष्फोटक सुरुवात गरेका थिए । उनले मात्र २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाएका छन् । अभ्यास खेल भएकाले अर्धशतक प्रहार गरेपछि उनी ‘रिटायर्ड आउट’ भएर पेभिलियन फर्किएका थिए ।
अर्का ओपनर कुशल भुर्तेल १२ रनमा आउट भए पनि मध्यक्रममा सन्दीप जोराले सम्हालिएर ब्याटिङ गरेका थिए । जोराले ३० बलमा ४ चौका र १ छक्कासहित ४४ रन को योगदान दिए । लोकेश बम ५ रनमा आउट भए । खेलको अन्त्यतिर गुलसन झा र दीपेन्द्र सिंह ऐरीले टोलीलाई जितसम्म लगेका थिए । गुलसन झाले २५ बलमा ५ चौकासहित अविजित ३१ रन बनाए भने दीपेन्द्रले ६ बलमा अविजित ९ रन जोडेका हुन् ।
नेपालले १८ ओभरमै १६२–४ को स्कोर खडा गर्दै जित निश्चित गरेको छ । क्यानडाका बलर साद बिन जफरले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने जष्करण सिंह र अजयवीर हुन्डलले पनि १–१ विकेट हात पारेका छन् । यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रन बनाए । इनिङको अन्त्यतिर श्रेयस मोभाले १९ बलमा अविजित ३८ रन र जष्करण सिंहले ११ बलमा २१ रन प्रहार गरेपछि क्यानडा सम्मानजनक स्कोरमा पुगेको थियो । बलिङतर्फ नेपालका स्टार स्पिनर सन्दीप लामिछाने नायक बनेका छन् । उनले ४ ओभरमा मात्र १४ रन दिएर २ महत्वपूर्ण विकेट लिएका छन् ।
यस्तै, पार्ट–टाइम बलर कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिएका छन् ।