आइतवार, श्रावण २४ गते २०८३

तिब्बती गतिविधिले चीन-नेपाल सम्बन्ध जोखिममा, दलाई लामाका दूतको नेपाल आगमनपछि अन्तरिम सरकार दबाबमा !

बिहिवार , माघ २२, २०८२

काठमाडौं । पछिल्लो समय नेपाल–चीन सम्बन्धमा असहजता बढ्दै गएको संकेत देखिन थालेको छ ।

विशेषगरी अन्तरिम सरकारप्रति चीन असन्तुष्ट बन्दै गएको छ । सरकारको पछाडि ‘बारबार फाउण्डेसन’मार्फत पश्चिमा शक्ति र भारतको प्रभाव रहेको आरोप लागिरहेको छ । 

यहीबीच दलाई लामाका निकट दूत तथा तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल आगमनले यो आशंकालाई झनै बलियो बनाएको छ ।

धार्मिक प्रवचनका लागि भन्दै रिन्पोछे नेपाल आइपुगेपछि राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ । नयाँ दिल्लीबाट काठमाडौं आएका रिन्पोछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उच्च सुरक्षा र भव्य स्वागत गरिनु आफैंमा गम्भीर प्रश्नको विषय बनेको छ । सामान्य धार्मिक भ्रमणमा आएका धर्मगुरुलाई राज्यस्तरको सत्कार किन ? भन्ने प्रश्नले सरकारलाई घेरेको छ ।

नेपालको राजनीतिक इतिहासमा नयाँ सरकार गठन हुँदा दलाई लामाले कहिल्यै औपचारिक शुभकामना दिएको उदाहरण छैन । तर, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई दलाई लामाबाट शुभकामना आएको घटनालाई चीनले शंकाको दृष्टिले हेरिरहेको बताइन्छ । उनै दलाई लामाका विश्वासपात्र रिन्पोछे १० दिने धार्मिक प्रवचनका लागि नेपाल आउनु चीनका लागि झनै चासोको विषय बनेको छ ।

इतिहासले देखाएको छ-तिब्बती गतिविधि र नेपाल–चीन सम्बन्ध सधैं संवेदनशील रहँदै आएको छ । २०२० को दशकअघि नै नेपालमा बसेर चीनविरुद्ध सक्रिय भएका तिब्बती समूहका कारण सम्बन्ध तनावग्रस्त बनेको थियो । विशेषगरी खम्पा विद्रोह चीनका लागि आजसम्म पनि गहिरो घाउको रूपमा रहेको छ ।

१९५० र ६० को दशकमा खम्पा विद्रोहीहरूले नेपालको उत्तरी भूभागलाई आधार बनाएर चीनविरुद्ध सशस्त्र गतिविधि चलाएका थिए । त्यस समय नेपालमाथि चीनको तीव्र दबाबपछि तत्कालीन सरकारले कडा कदम चाल्दै खम्पा गतिविधि नियन्त्रण गरेको इतिहास छ । यही घटनाले चीनलाई तिब्बती गतिविधिप्रति अत्यन्त संवेदनशील बनाएको हो ।

त्यसयता चीनले नेपाललाई पटक–पटक आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिन चेतावनी दिँदै आएको छ । तर, अन्तरिम सरकार गठनपछि फेरि तिब्बती मूलका धार्मिक तथा राजनीतिक पात्रहरू नेपालसँग नजिकिन थालेको चीनको बुझाइ छ । यही कारण चीन अहिले निकै रुष्ट देखिएको स्रोतहरू बताउँछन् ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले दलाई लामाका प्रतिनिधिलाई सरकारले संरक्षण दिएपछि चीनले कडा चेतावनी दिएको दाबी गरेका छन् । उनका अनुसार यो विषय कूटनीतिक तहमा मात्र सीमित नरही राजनीतिक सन्देशका रूपमा आएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले समेत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक माध्यमबाट रिन्पोछेको नेपाल आगमनप्रति चासो प्रकट गरिसकेको छ । जेनजी आन्दोलनमा तिब्बतीहरूको सहयोग रहेको आशंका चलिरहेका बेला रिन्पोछेको नेपाल भ्रमणलाई संयोग मात्र मान्न नसकिने टिप्पणी हुन थालेको छ ।

दलाई लामाका सबैभन्दा निकट र विश्वासपात्र मानिने रिन्पोछे नेपाल आएपछि नेपाली राजनीति तरङ्गित बनेको छ भने चीन आक्रोशित देखिएको छ । यदि अन्तरिम सरकारले तिब्बतीहरूसँगको बढ्दो हिमचिममा ब्रेक नलगाए, चीन चुप लागेर बस्ने संकेत देखिँदैन ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो विषय सामान्य धार्मिक भ्रमणभन्दा धेरै गहिरो छ, जसले अन्तरिम सरकारको भविष्य मात्र होइन, नेपाल–चीन सम्बन्धमै दीर्घकालीन असर पार्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार