काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा भिड्दै छन् पाकिस्तान र नेदरल्यान्ड्स । यो खेल श्रीलंकाको सिंहली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ ।
सोही दिन वेस्ट इन्डिजले स्कटल्यान्ड तथा भारतले अमेरिकाको सामना गर्नेछन् । दुवै खेल भारतमा हुनेछन् । प्रतियोगितामा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्, जसमा ११ टेस्ट तथा ९ एसोसिएट राष्ट्र छन् ।
विश्वभरका क्रिकेटप्रेमीको नजर विश्वकपमा केन्द्रित भइरहँदा नेपाली क्रिकेट समर्थकहरू भने झनै उत्साहित देखिएका छन् । यसपटक नेपाली क्रिकेट टोली पनि विश्वकपको मैदानमा आफ्नो चुनौती प्रस्तुत गर्न तयार छ ।
नेपाली टोलीले यस विश्वकपमा कमजोर होइन, प्रतिस्पर्धी टोलीका रूपमा आफूलाई स्थापित गर्ने आत्मविश्वास बोकेको छ । खेलप्रति नेपाली दर्शकले देखाउँदै आएको अपार उत्साहले नेपाललाई विश्व क्रिकेट मानचित्रमा अलग पहिचान दिलाएको छ । यो विश्वकपमा सबैभन्दा धेरै क्रिकेट समर्थक रहेको देशमा भारत पहिलो स्थानमा रहँदा, नेपाल दोस्रो स्थानमा पर्नु नेपाली क्रिकेटप्रेमको प्रमाण हो । सानो देश भए पनि नेपाली दर्शकको समर्थनले विश्व क्रिकेटलाई चकित बनाइरहेको छ ।
तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको नेपालले आइतबार टेस्ट राष्ट्र तथा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध खेल्दै आफ्नो विश्वकपको सुरुवात गर्नेछ । पहिलो खेलमै बलियो टोलीसँगको भिडन्त भए पनि नेपाल जितसहित विजयी सुरुवात गर्ने लक्ष्यमा छ ।
यसअघि दुई पटक विश्वकप खेलेको नेपाल दुवैपटक समूह चरणबाटै बाहिरिन बाध्य भएको थियो । तर यसपटक भने टोलीको लक्ष्य स्पष्ट छ—सुपर आठमा स्थान बनाउने । समूह ‘सी’मा रहेको नेपालको समूहमा इंग्ल्याण्ड र वेस्ट इन्डिजजस्ता दुई पूर्व विश्वकप विजेतासँगै एसोसियट राष्ट्र स्कटल्याण्ड र इटाली रहेका छन् । समूह चरणबाट शीर्ष दुई स्थानमा रहने टोली मात्र सुपर आठमा प्रवेश गर्नेछन् ।
नेपाललाई सुपर आठमा पुग्न कम्तीमा तीन खेल जित्नुपर्नेछ । यदि नेपालले तीन खेलमा जित निकाल्न सके, भने नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपिनेछ । तयारी, आत्मविश्वास र समर्थकको अपार साथका साथ नेपाली टोली विश्वकपमा धमाका मच्चाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ । यसपटक नेपाली टोली केवल विश्वकपमा सहभागिताका मात्र नभइ इतिहास रच्नेछ भन्नेमा सम्पूण खेलप्रेमी आशावादी छन् ।