आइतवार, श्रावण २४ गते २०८३

वरिष्ठ कलाकार थापाको अन्तिम बिदाइ

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका दिग्गज एवं लोकप्रिय अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो । बिहान बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका थापालाई साढे ७ बजे ईसीजी रिपोर्टपछि चिकित्सकले मृत घोषित गरेका थिए । लामो समयदेखि शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

नेपाली सिनेमामा ‘राते काइँला’ को नामले अमिट छाप छोडेका थापाले चार दशकभन्दा लामो फिल्मी यात्रामा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले नेपाली मात्र नभई भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा समेत आफ्नो सशक्त अभिनयको जादु छरेका थिए । विशेषगरी बलिउड अभिनेत्री प्रियंका चोपडाको चलचित्र ‘मैरी कोम’ मा प्रशिक्षकको भूमिका र चर्चित वेब सिरिज ‘द फेमिली म्यान’ मा उनको अभिनयलाई विश्वभरका दर्शकले रुचाएका थिए ।

नेपाली पर्दामा खलनायकको चरित्रलाई नयाँ उचाइ र पहिचान दिलाउन थापाको योगदान अविस्मरणीय मानिन्छ । स्वर्गीय थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा राखिएको छ । बोर्डमा चलचित्रकर्मी, कलाकार, राजनीतिज्ञ र उनका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ ।

विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बोर्ड पुगेर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनको निधनसँगै नेपाली चलचित्रको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको महसुस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार