काठमाडौँ । फागुन २१ गते निर्वाचन हुँदैछ । त्यसको ठिक २० दिन अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो शक्ति देखाउने भएका छन् । अहिले झापाबाट शाहले भित्रि रुपमा तयारी गरिरहेका छन् ।
फागुन १ गते झापाबाट शाह काठमाडौँमा आउने छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाबाट काठमाडौँ फर्कँदा पूर्वराजाको भव्य स्वागत गर्ने भएको हो । यो केबल स्वागत मात्र नभइ शाह नारायणहिटी फर्कन लागेको संकेत भएको राजावादीहरुको टिप्पणी छ । राप्रपाका तीन नेताले पूर्वराजाको स्वागतमा जुट्न आग्रह गरेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजा काठमाडौँ फर्कँदा स्वागतमा उत्रिन आह्वान गरेका छन् । यस्तै राप्रपाका वरिष्ठ नेता धवल शमशेर राणाले पनि पूर्वराजाको काठमाडौँमा भव्य स्वागत गर्न अपिल गर्दै भनेका छन्, ‘फागुन १ गते श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेव सरकार झापाबाट हुने फिर्ति सवारीलाई सभ्य र भव्य बनाउन सम्पूर्ण राजभक्त, देशभक्तहरु एक भएर सरकारको स्वागतार्थ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थाल पुगौँ।’
यस्तै, राप्रपाका नेता रवीन्द्र मिश्रले पनि राप्रपा तथा राजसंस्थावादीहरूलाई आग्रह गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतका लागि अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य-भव्य-भव्य स्वागत गरौँ, देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन् । यो एकदम सकारात्मक संकेत हो ।’
उनले पुराना दलहरु राजाको पक्षमा उभिसकेको बताएका छन् । पछिल्लो समय कांग्रेस र एमालेका केही नेताहरुले संवैधानिक राजतन्त्र चाहिने मत राखेका छन् । रास्वपाबाट भावि प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन शाह पनि हिन्दुराज्यको पक्षमा देखिन थालेका छन् ।
अब नयाँ बन्ने संविधानले मुलुकलाई संवैधानिक राजतन्त्रको माग पुरा गर्ने राजतन्त्र पक्षधरको दाबी छ । फागुन २१ गते पूर्वराजा शाहलाई राप्रपाका नेताहरुले स्वागत गर्नेछन् । आजै राजा फर्काउ अभियानका संयोजक दुर्गा प्रसाईँ पनि हिरासत मुक्त भएका छन् । शाहले एक वर्ष अगाडि पनि काठमाडौँमा शक्ति देखाएका थिए ।
उनको स्वागतका लागि विमानस्थलदेखि निर्मल निवाससम्मै भिड लागेको थियो । यस पटक उनको पक्षमा कतिको भिड देखिन्छ ? त्यो भने फागुन १ गते नै थाहा हुनेछ ।