काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याकाण्डमा मुछिएका तीन आरोपितहरूलाई जिल्ला अदालतकै फैसला सदर गरेको छ ।
अदालतले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैदको सजाय सुनाउँदै जिल्ला अदालत मोरङको अघिल्लो फैसलालाई आंशिक रूपमा उल्ट्याएको हो । आइतबार राति अबेरसम्म चलेको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले यो बहुप्रतिक्षित फैसला सुनाएको हो ।
माघ २० गतेदेखि सुरु भएको निरन्तर सुनुवाइपछि उच्च अदालतले मुख्य योजनाकार मानिएका गोरेलाई थप सजाय तोकेको हो । यसअघि जिल्ला अदालतले गोरेलाई कर्तव्य ज्यान मुद्दामा मात्रै जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो । उच्चको नयाँ फैसलासँगै अब उनले थप १० वर्ष गरी कुल ३० वर्ष जेलमा बिताउनुपर्ने भएको छ ।
अदालतले अन्य केही प्रतिवादीको हकमा भने कैद सजाय घटाउने निर्णय गरेको छ । जिल्ला अदालतबाट जन्मकैद पाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय घटाएर १०–१० वर्ष कायम गरिएको छ ।
यस्तै, हत्याका मतियार मदन सिलवाललाई तीन वर्ष कैद सजाय तोकिएको छ । लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्लाकै जन्मकैदको फैसला सदर भएको छ ।