शनिवार, आश्विन १७ गते २०८३

पोखराको फेवातालमा माछा मार्ने जालमा भेटियो राइफल

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । पोखराको फेवातालमा माछा मार्ने क्रममा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको छ । बिहीबार दिउँसो पोखरा महानगरपालिका–१८ खपौदीस्थित तालमा स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्दा उक्त हतियार फेला परेको हो ।

तालमा माछा मार्ने क्रममा जालमा गह्रौँ वस्तु अड्किएपछि तान्दा हतियार देखिएको भन्दै जलारीले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट टोली खटिएको थियो । प्रहरीका अनुसार बरामद हतियारमा ‘मु वा १११ (बट) नम्बर बडी नं. १३८१०’ उल्लेख छ । उक्त एसएलआरमा १८ राउण्ड गोली लोड गरिएको म्यागजिनसमेत फेला परेको कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डीएसपी बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माछा मार्ने जालमा अड्किएर एसएलआर राइफल र गोली लोड भएको म्यागजिन बाहिर निस्किएको देखिन्छ, बरामद हतियारबारे प्रारम्भिक अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाइएको छ ।’ सुरक्षा निकायले मात्र प्रयोग गर्ने परिष्कृत हतियार तालको गहिराइमा कसरी र कहिले पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

द्वन्द्वकालीन समयमा फालिएको वा पछिल्लो समय कुनै आपराधिक समूहले लुकाएको हुन सक्ने दुवै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माओवादी द्वन्द्वको समयमा नेपाली सेनाले २०५२ देखि २०६३ सम्म ७.६२ एमएम क्यालिबरको एसएलआर प्रयोग गरेको थियो । तत्कालीन विद्रोही माओवादीले सुरक्षा निकायमाथि आक्रमण गरेर ठूलो संख्यामा एसएलआरहरू कब्जा गरेका थिए ।

द्वन्द्वको अन्त्यपछि, धेरै हतियारहरू प्रमाणीकरण भए पनि कतिपय हतियार हराएको वा लुकाइएको आशंका गरिन्छ । हाल नेपाली सेनाले एम–१६ प्रयोग गर्ने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार