काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न कारागारबाट भागेका सात जना कैदीबन्दी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, खोजतलासका क्रममा काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ घर भई हाल काठमाडौंको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ रहेका छन् ।
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौंको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ, काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू डाँका चोरी, मानव बेचविखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका थिए ।
सातै जनालाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाइएको प्रहरीले जनाएको छ ।