आइतवार, श्रावण २४ गते २०८३

सरकारले आफूखुसी नयाँ पात्रो र भित्तेपात्रो निकाले कारबाही गर्ने

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । सरकारले पात्रो र भित्तेपात्रो प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति अनिवार्य गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिविना पात्रो तथा क्यालेन्डर प्रकाशन र वितरण गर्न नपाइने जनाएको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुन अनुसार नै पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था गरिएको बताएका छन् । गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका २०७९ बमोजिम व्यक्ती, संघ–संस्था, प्रकाशक तथा वितरकले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

त्यही अनुसार, पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको पन्थीले बताए । उनले बजारमा आउने कतिपय पात्रो तथा क्यालेन्डरमा तिथि, मिति, सार्वजनिक बिदा लगायतका विवरणमा त्रुटी भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको उल्लेख गरे । पूर्वस्वीकृति लिए नलिएकोबारे अनुगमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए ।

समितिलाई स्वीकृतिविना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको कार्यकारी निर्देशकले पन्थीले बताए ।

उनले भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिन सरोकारवाला सबैलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार