काठमाडौं । इंग्ल्यान्डले भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपको सुपर एटमा स्थान बनाएको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा इटालीलाई २४ रनले हराउँदै इंग्ल्यान्डले सुपर एटको टिकट काटेको हो । टोलिले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो । यस समूह ‘सी’बाट वेस्ट इन्डिजले एक खेल अगावै सुपर एटमा स्थान बनाइसकेको छ । नेपाल, स्कटल्यान्ड र इटाली समूह चरणबाट बाहिरिए ।
इंग्ल्यान्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटालीले २० ओभरमा १७८ रनमा अलआउट भयो । बेन मनेन्टीले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ६० रन जोडेपनि टोलिको हार टार्न सकेनन् । उनले ६ छक्का र ४ चौका प्रहार गरे ।
उनीपछि ग्रान्ट स्टवार्टले पनि इटालीलाई खेलमा राखिरहेका थिए । १७ औं ओभरमा आदिल राशिदको बलमा लगातार तीन छक्का प्रहार गर्दै उनले इटालीलाई कमब्याक गराएका थिए । तर, साम १८ औं ओभरको अन्तिम बलमा साम करनले उनको विकेट लिएपछि इटाली दबाबमा पर्यो । ग्रान्ट २३ बलमा ४५ रन जोडेर आउट भए । यस्तै, जस्टिन मोस्काले ४३ रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले तीन–तीन तथा जोफ्रा आर्चरले दुई विकेट लिए भने विल ज्याक्स र आदिल राशिदले एक–एक सफलता हात पारे ।
त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २०२ रन जोड्यो ।
विल ज्याक्सले अर्धशतकीय पारी खेले । उनले इंग्ल्यान्डका लागि टि–२० विश्वकपमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान पनि बनाए । ज्याक्सले २१ बलमा अर्धशतक बनाएका हुन् । यसअघि ओएन मोर्गनले २०१२ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २५ बलमा अर्धशतक बनाएका थिए । ५३ रनमा नटआउट रहेका उनले ४ छक्का र ३ चौका प्रहार गरे ।
यस्तै, टम बान्टनले ३०, फिल साल्टले २८, साम करनले २५, जेकोव बेथेलले २३, जेमी ओभर्टनले १५ रन जोडे । बलिङतर्फ इटालीका ग्रान्ट स्टवार्ट र कृशन कलुगामागेले दुई–दुई तथा जेजे स्मट्स, अलि हसन र बेन मानेन्टीले एक–एक विकेट लिए ।