काठमाडौं । भ्रष्ट्राचारको आरोप लागेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
७९ वर्षीय जुमाले पुगेर आत्मसर्पण गरेको बीबीसीले लेखेको छ । उनी अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार भएका हुन् । भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइमा सबुत पेस गर्न उनलाई अदालतले भनेको थियो ।
तर सो आदेश नमानेको आरोपमा उनलाई गत हप्ता १५ महिना जेल सजायँ सुनाइएको थियो । जुमाको फाउन्डेसनले विज्ञप्ति जारी गर्दै पक्राउ आदेशको पालना गरेको जानकारी दिएको छ ।
जुमाले आफ्नो कार्यकालमा निर्णय प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञ र व्यापारीहरुसँग साठगाँठ गरेको आरोप छ । विवादमा मुछिएपछि उनलाई सन् २०१८ मा उनकै पार्टीले पद त्याग्न बाध्य पारेको थियो ।