काठमाडौँ । सामाजिक सञ्जालमा एक जना वृद्धलाई मुक्का प्रहार भएको भिडियो निकै भाइरल भइरहेको छ ।
काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकमा कालो कारबाट कालो चस्मा लगाएर हिरो झै एक व्यक्ति बाहिर आउँछन् । र, एक जना वृद्धको कानको जाली फुट्ने गरि हिर्काउछन् । आफूलाई हिरो ठानेर वृद्धलाई मुक्का हान्ने कार चालक पारस बम हुन् । पारस बम पेसाले इञ्जिनियर रहेको खुलेको छ ।
अहिले पारसलाई प्रहरीले समातेको छ । भिडियोमा देखिए अनुसार ती वृद्धको कुनै गल्ती छैन । नत उनले गाली गरेका छन्, नत उनले त्यो कारलाई धक्कामुक्का नै गरेका छन् । ती वृद्धको गल्ती भनेको जेब्राक्रसिङ नभएको ठाउँबाट बाटो काट्नु थियो । तर, बीच रोडमा बाटो काटेकै भरमा वृद्धको गालामा दुई चड्कन हान्न नैतिकताले समेत दिदैँन । बा ३ च ११०३ नम्बरको जीपबाट झरेर पारसले सामान्य अवस्थाका नागरिकमाथि मुक्का प्रहार गरे । उनले ती वृद्धलाई गाली गर्दै हातपात गरेका हुन् ।
‘ए जडिया के भन्या ओई तैंले,’ भन्दै पारसले वृद्धको गालामा मुक्का हानेको भिडियोमा देखिन्छ । चालकसँगै रहेकी महिलाले पनि वृद्धलाई गाली गरेको सुनिन्छ । फेरि एकैछिनमा पारसले वृद्धमाथि अर्को मुक्का प्रहार गर्छन । अचानक मुक्का प्रहार भएपछि ती वृद्धले आफूमाथि के भइरहेको छ ? सोच्न समेत पाउँदैनन् । पारसको हर्कत देखेर लाग्छ मानवता हराएकै हो ? गल्ती गरेको भए पनि कानुन छ । तर, पाखुरामा बल छ भन्दैमा यसरी कानको जाली फुट्ने गरि हिर्काउन मिल्छ ? समाजिक संञ्जालमा अधिकांशले भनेका छन् ‘यो अराजकलाई डण्डा हानेर जेलमा राखियोस् ।
यो फटाहालाई तुरुन्त समातेर कडा कारबाही गर सरकार।’ समाजिक सञ्जालमा कारबाहीको माग उठेपछि प्रहरीले पारसलाई पक्राउ गरेको छ । आज समातिएका बम तिन दिनसम्म प्रहरी हिरासतमा बस्ने भएका छन् । भोलि ग्याल्पो ल्होसार र पर्सि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भएकाले उनी तीन दिन हिरासतमै रहने भएका हुन् ।
शनिबार महाराजगञ्जस्थित पूर्वतर्फको चप्पल कारखानाअगाडिको सडकमा हिँडिरहेका वृद्धमाथि बमले हातपात गरेका थिए ।
यद्यपि, सो भिडियो आज बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भएको हो । फागुन आठ गते अदालतबाट अनुमति लिएर अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ ।