काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले २००७ सालको राजनीतिक क्रान्ति केवल शासन परिवर्तन नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको ऐतिहासिक उदघोष भएको बताएकी छन् ।
प्रजातन्त्र दिवसको अवसरमा बोल्दै उनले फागुन ७ लाई नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने महान दिन रहेको बताइन् । वर्तमान समयको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला नै २००७ सालको क्रान्तिले तयार पारेको बताइन् । उनले भनिन्, ‘सिद्धान्तमा लोकतन्त्र आयो, संविधानमा सुन्दर अक्षर लेखिए, तर व्यवहारमा लोकतान्त्रिक संस्कार र संस्थागत अभ्यास मजबुत बनाउन नसक्दा पटक-पटक उपलब्धि संकटमा परेको छ ।’
प्रधानमन्त्री कार्कीले २००७ सालको उपलब्धि २०१७ सालमा खोसिनुका साथसाथै २०३६, २०४२, २०६३ र २०८२ मा पनि जनतालाई सडकमा उत्रिनु परेको बताएकी छिन् । उनले लोकतन्त्रको नारा घन्किए पनि व्यवहारमा विभेद, असमानता र शक्ति केन्द्रीकरण कायमै रहँदा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताएकी छन् ।
उनले भनिन्, ‘संविधानमा समानता लेख्यौं, तर व्यवहारमा असमानता दोहोर्यायौं । एउटै वर्गले सत्तामा हालीमुहाली गर्दै स्रोतसाधनमा एकल अधिकार जमाउने र राज्य संरचनामा प्रभाव जमाइरहने प्रवृत्तिको अन्त्य हुन सकेन ।’
प्रधानमन्त्री कार्कीले यस्ता राजनीतिक संस्कृतिले राज्यप्रति विश्वास हराउने र विद्रोह जन्मिने बताइन् ।