काठमाडौं । आगामी फागुन २१ को निर्वाचनका लागि निर्णायक दौडमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीको भूगोललाई साक्षी राख्दै आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ । यसअघि नै ‘करार पत्र’मार्फत आफ्ना प्राथमिकता सार्वजनिक गरेको रास्वपाले बिहीबार वीरेन्द्रनगरमा आयोजित सभामा दलीयकरणको अन्त्य र उच्चस्तरीय भ्रष्टाचार छानबिनलाई मुख्य एजेन्डा बनाएको हो ।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले लगायतले संयुक्त रूपमा सार्वजनिक गरेको वाचापत्रमा २०४६ सालपछिका सबै उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न ‘शक्तिशाली उच्च आयोग’ गठन गर्ने सङ्कल्प गरिएको छ । रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ । सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘हामीले जनतासँग झुटो आश्वासन होइन, सम्झौता गरेका हौँ । २०४६ यता देश लुट्नेहरूको फाइल अब खुल्छ, कसैले उन्मुक्ति पाउने छैनन् ।’
उनले अबको निर्वाचन पुरानो सिन्डिकेट भत्काउने अन्तिम अवसर भएको दाबी गरेका छन् । सभापति लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता कार्यकर्ताले कचकच गरेको भन्दै टिप्पणी गरेका छन् । उनले भने, ‘जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन । सबै मिले हुन्छ । रास्वपा एक्लै लड्छ । रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ जनता डराउनुपर्दैन, रास्वपाले युनिभर्सिटीमा दलका ब्यानर निकालेर पढाइढ मात्रै गर्न खोजेको हो ।ठेक्का लिएको बाटो समयमै निर्माण गर्ने वातावरण खोजेको हो ।’
यस्तै, वरिष्ठ नेता बालेन साहले सुशासन र व्यवस्था बदल्न रास्वपाको विकल्प नभएको तर्क गरे । उनले भने, ‘दलीयकरणले थला परेका हाम्रा संस्थाहरूलाई स्वतन्त्र विज्ञको हातमा सुम्पनु हाम्रो प्राथमिक सर्त हो ।’ वाचापत्रमा कर्णालीको विकासका लागि विशेष आर्थिक प्याकेज, डिजिटल अर्थतन्त्र, र वैदेशिक रोजगारीमा गएका युवाको मताधिकार सुनिश्चित गर्ने विषयलाई महत्त्वका साथ उठाइएको छ । कर्णालीलाई शिवभूमिको उपमा दिँदै शिवको पाउमा पुगेर वाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी भएको बताएका छन् ।
उनले भने, ‘शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ ।’ बालेनलले राजा महेन्द्रको पुरानो भनाइलाई पनि सम्झिए । उनले भने, ‘कर्णाली यो देशको सबैभन्दा ठुलो रारा ताल राजा महेन्द्रले भनेजस्तो स्वर्गकी अप्सराको ठाउँमा आउन पाउँदा खुसी छु ।’ बालेनले कर्णालीको यार्सागुम्बा विश्वभर पुग्दा जुम्लाको स्याउ देशभरी पुग्न नसकेको भन्दै रास्वपाले पुर्याउने बताएका छन् । उनले भने, ‘आजको दिनमा सुनजस्तो मानिने डोल्पाको यार्सागुम्बा विश्वभरी पुग्नसक्छ ।’
उनले थपे, ‘तर, कर्णाली स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन यहाँको उत्पादनलाई देशभरी पुर्याउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’ उनले सिञ्जा सभ्यता, नेपाली भाषा, खस भाषाको उद्गमस्थललाई जोगाउने र कर्णालीको सभ्यता जोगाउने पार्टी रास्वपा हुने दाबी गरेका छन् । बालेनले भने, ‘कर्णालीको दुःख र गरिबीलाई बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन् । त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’
अर्थविद् एवं उपसभापति डा. स्वर्णिम वाग्लेले भने, ‘हाम्रो लक्ष्य केवल सत्ता होइन, उत्पादन र उद्यमशीलतामा आधारित नयाँ अर्थतन्त्रको निर्माण हो ।’ डा. वाग्लेले रास्वपाको वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरेका छन् । डा. वाग्लेले भने, ‘लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आकार ठुलो हुनुपर्ने भयो । मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो । र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो, यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर वाचापत्र ल्याएको छ ।’
सुशासन बलियो जगमा मध्यमवर्गको विस्तार, रोजगारीको सिर्जना, गुणस्तरीय पूर्वाधार, विदेशमा रहेका नेपालीका मुद्दालाई ग्रहण गरेको उनले बताएका छन् । यसबाहेक मध्यमवर्ग भोगिरहेका समस्याको समाधानका लागि वाचापत्रमा यथेष्ट योजना समेटिएको उपसभापति वाग्लेले बताए ।