काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने सङ्कल्प लिएर आएको बताएका छन् ।
प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने सङ्कल्प लिएर आएका छौँ । हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’ उनले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उनको भनाई रहेको छ । उनले थपे, ‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबन्डा हुँदैन हुन दिँदैनौँ । यो बदलिएको कांग्रेसको सङ्कल्प हो ।’
सभापति थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने बताएका छन् ।