काठमाडौं । पाकिस्तानको कराँचीको सोल्जर बजार क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
बीबीसी उर्दुका अनुसार, ११२२ (आपत्कालीन सेवा) का प्रवक्ता हसन हबिबले स्थानीय समय बिहीबार बिहान ३ः४५ बजे गुल राणा कोलोनीमा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन् । विस्फोटका कारण आवासीय भवनको एक भाग नै भत्किएको छ । मृतकमा बालबालिका पनि रहेका छन् ।
सोल्जर बजार प्रहरीका अनुसार, दुर्घटना एक निजी विद्यालयनजिकै रहेको आवासीय भवनमा उक्त घटना घटेको हो । सिन्धका मुख्यमन्त्रीका प्रवक्ता अब्दुल रसिद चन्नाले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीले सोल्जर बजारमा भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख गरेका छन् ।
उनले सम्बन्धित निकायहरूलाई भग्नावशेषमुनि फसेकाहरूलाई तुरुन्तै उद्धार गर्न निर्देशन दिएका छन् ।