काठमाडौँ । के संवैधानिक राजतन्त्रमा मुलुक जान लागेको हो ? चुनाव अघिनै व्यवस्था उलटफेर हुनसक्छ ? यी प्रश्नको जवाफ समयले दिनेछ । तर, फागुन २१ गते हुने निर्वाचन नजिकिएसँगै पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् ।
शाह सक्रिय मात्रै भएका छैनन, उनले चुनाव रोक्ने योजना समेत बनाइरहेका छन् । अहिलेको परिस्थितिमा चुनाव भए देश थप संकट तर्फ धकेलिने भन्दै शाहले चुनाव रोक्नु पर्ने अडान लिएका हुन् । शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेर मात्र चुनावमा जानु उपयुक्त हुने सुझाव दिएका छन् ।
फागुन १ गते काठमाडौँमा आफ्नो शक्ति देखाएका शाहले फागुन ६ गते व्यवस्था ढाल्नु पर्ने अभिव्यक्ति दिए । ७६ औँ प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशमा पूर्व राजाले राष्ट्रिय संकटको समाधान नगरी हुने चुनावले थप द्वन्द्व निम्त्याउने चेतावनी दिए ।
सिंगै मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको शाहको जिकिर छ । ‘विगतमा अनेकौँ नाममा आन्दोलन भए । संघर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यसलाई फाल्नु र फ्याँक्नुपर्छ। त्यसैले विश्वका कैयौँ राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्नो जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन्’, शाहले भने ।
शाह सक्रिय भएसँगै चुनावमा होमिएको अन्तरिम सरकार दबाबमा परेको छ । पहिला संवैधानकि राजतन्त्रमा मुलुक जानुपर्ने र त्यसपछि मात्रै चुनाव गराउनु पर्ने माग सम्बोधन गर्न राजावादीहरुले सरकारलाई दबाब दिन थालेका छन् ।
राजतन्त्र फर्काए मात्रै चुनाव हुन दिने नत्र चुनाव विथोल्ने चेतावनी दिइरहेका दुर्गा प्रसाईँ यतिबेला प्रहरी हिरासतमा छन् । संवैधानिक राजतन्त्रमा राष्ट्रपतिको ठाउँमा राजा हुन्छन् र कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्छन् ।