काठमाडौं । रास्वपाले रुपन्देहीको भैरहवामा शनिबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ ।
रास्वपा उपसभापति डोल प्रसाद अर्यालले तत्काललाई सभा स्थगित गर्न प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ । दाङमा बिहीबार राति रास्वपाले एमालेको झण्डा जलाएपछि एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने आँकलनबीच सभा स्थगितको अनुमान छ । रास्वपाले भने यसबारे बोलेको छैन् । संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।
प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । रास्वपा बिहीबार नै पत्रकार सम्मेलन गरेर १ लाख सहभागी जुटाउने जनाएको थियो । एमालेको युवा फोर्सले आफ्नो झण्डा जलाएको भन्दै प्रतिकार गर्ने घोषणा गरेको छ । चुनावी सभाका लागि रास्वपा सभापति रवि लामिछाने आज दाङमा छन् ।
दाङ र रुपन्देहीको सभामा आउने गरी सुर्खेत आएका वरिष्ठ नेता बालेन शाह शुक्रबार बिहानै आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुगेर घरदैलो सुरु गरेको उनको सचिवालयले जनाएको छ । उनी मतदातासँग भेटघाट र कुराकानी गरिरहेका छन् ।
रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा आयोजना गरेको थियो । त्यही चुनावी सभामा घोषणापत्र सार्वजनिक गरेको थियो ।