काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएर लोकतान्त्रिक मूल्य-मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्याएको बताएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन् ।
घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अखिलको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ ।’