बुधवार, आश्विन १४ गते २०८३

निर्वाचन सफल पार्न प्रधानमन्त्री कार्कीको निर्देशन

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार प्रधानमन्त्री कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्न त्यहाँ पुगेकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् । प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित नेपाल सेनाको इन्द्रबक्स गण गएका थिए । जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।’ प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनलक्षित सुरक्षा योजनाबारे जानकारी गराएकी थिइन् ।

यसैगरी जिल्ला मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म भएका कार्यप्रगतिलगायत विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार