काठमाडौं। संखुवासभामा गएराति भएको विभत्स हत्या घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। घटनामा धारिलो हतियार प्रयोग गरी एकै परिवारका ६ जनाको हत्या भएको छ। उनिहरुको शब फरक–फरक ठाँउ गरी चार ठाउँमा भेटिएको प्रहरीले जनाएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् ।
घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका-१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको हो। घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ।
घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ठाउँठाउँमा चप्पल पनि भेटिएको हुँदा भाग्दा फुस्किएको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए। घरमा एक जना वृद्ध राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा सकुशल भेटिएका छन् । प्रहरीले उनीसँग कुरा गर्न नसकेको जनाएको छ।
घटनामा ५७ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया रञ्जना कार्की, १० वर्षीय दीपक कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको हो। सो घटनाको प्रहरीको चारवटा टोलीले अनुसन्धान गर्ने भएको छ। संघीय, जिल्ला, इलाकासहित स्थानीय प्रहरीको टोलीले हत्या घटनाको अनुसन्धान गर्ने गरी प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ।
घटनाको छानविनका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली पठाइएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यलयबाट डिएसपीको नेतृत्वमा एक टोली र इलाका प्रहरी चैनपुरबाट पनि इन्सपेक्टरको नेतृत्वमा टोली खटिएको छ।