बुधवार, आश्विन १४ गते २०८३

रास्वपालाई एमालेको चेतावनी– धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिनु

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको भन्दै आपत्ति जनाएको छ ।

गएराति तुलसीपुर बजार क्षेत्रमा रास्वपा सम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अशोभनीय नारा लगाउनुका साथै पार्टीको झण्डा जलाएको भन्दै एमाले जिल्ला कमिटीले शुक्रबार एक विज्ञप्तिमार्फत  टिप्पणी गरेको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कार र विधिको शासनमाथि प्रहार हुने गरी भएको उक्त गतिविधि अराजक र असभ्य भएको उल्लेख छ ।

विचार र जनमतबाट राजनीतिक असहमति व्यक्त गर्नुपर्नेमा हिंसात्मक र उत्तेजक व्यवहार देखाउनु राजनीतिक अपरिपक्वता भएको एमालेको ठहर छ । एमालेले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै क्षणिक चर्चाका लागि गरिने उग्र प्रदर्शन र प्रियतावादले अन्ततः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा एमालेको धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिन सचेत गराउँदै यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ ।

साथै, एमालेले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ लोकतान्त्रिक मूल्यको रक्षा र सुदृढ प्रतिवादको पक्षमा उभिन अपिल समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार