काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले एमाले झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने बताएका छन् । दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घुसपैठ भएको हुनसक्ने बताएका छन् ।
उनले भने, ‘अलिकति केही विवाद गर्न खोजिएको छ । कुनै अन्य राजनीतिक दलको झण्डालाई कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई देसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार ! रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’
उनले धेरै आफ्ना पार्टीका समर्थकहरुलाई गाली गरेको सुनेको बताएका छन् । उनले भने, ‘रास्वपाले सबै जन्माएको होइन । तपाईँहरूले काम गर्न नसकेपछि रास्वपा बनेका मान्छे छन् यहाँ । रास्वपाले जन्माएर, रास्वपाको समर्थक भएको भए त सबै यहाँ बच्चै बच्चा हुन्थे नि । रास्वपा त ३ वर्षको हो, को छ यहाँ ३ वर्षको बच्चा ? कोही पनि छैन् । सबै लक्का जवान हुर्केका छन् ।’ उनले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिएर अमूल्य समय खर्च नगर्ने बताएका छन् ।
उनले भने, ‘मलाई आरोप लगाउनेहरूले त धेरै आरोप लगाएका छन् । लगाउन्, म तिनलाई उठेर जवाफ फर्काउन्न । ती योजनाकार हुन् जो त्यहाँबाट जित्छु भनेर उठेर बसेका छन् । तिनको आदेशमा, मेरो बेडरुममा प्रहरीले मलाई अन्तिम इच्छा सोधेको थियो । यहीँ छन् तिनीहरू ! मध्यरातमा पुलिस पठाएर बेडरुममा बुट बजारेर मलाई मेरो अन्तिम इच्छा सोध्न लगाउने आदेश दिनेहरू यहीँबाट चुनाव लड्दै छन् । मैले जवाफ दिएको छैन् र म तिनलाई दिन्न । मेरो अन्तिम इच्छा के हो ? त्यो जवाफ यसपटक मतपत्रमा तपाईँले दिनुहोला !’ उनले पुराना दलहरूलाई एउटै सीट जिताउन नहुने बताएका छन् ।
पुराना दलहरूलाई भने, ‘तपाईँहरूको संगठन छ, साँच्चै तपाईंहरूलाई सङ्गठनप्रति गर्व छ भने तपाईँहरू प्रतिपक्षमा बसेर सडकबाट हामीलाई खबरदारी गर्नुस् । एक ठाउँमा नजितोस् पुराना पार्टीले । तपाईँले आफ्नो तागत, आफ्नो सङ्गठनको तागत सडकबाट देखाउनुस् । हामी काम गर्छौँ, हामीलाई त्यहाँबाट खबरदारी गर्नुस् हामी हेर्छौँ । हामी मज्जाले हेर्छौँ ।’