बुधवार, आश्विन १४ गते २०८३

मध्यपूर्वको शक्ति र विश्वव्यापी समर्थनका साथ  एनआरएनए आईसीसी उपाध्यक्षमा प्रविन गुरुङको बलियो उम्मेदवारी

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारीले प्रवासी नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ ।

मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक, व्यवसायी तथा पेशागत समुदायको प्रतिनिधित्व गर्दै आएका गुरुङ अहिले संस्थाभित्र परिणाममुखी, समन्वयकारी र एकतामुखी नेतृत्वका रूपमा उभिएका छन् । एनआरएनए कतारको उपाध्यक्षबाट सुरु भएको उनको यात्रा मध्यपूर्व डिआरसी, क्षेत्रीय संयोजक, आईसीसी सचिव हुँदै उपमहासचिवसम्म सफलतापुर्वक  पुगेको छ । अघिल्लो निर्वाचनमा अत्याधिक मतका साथ उपमहासचिवमा निर्वाचित भएपछि उनले संस्थाभित्र कार्यसम्पादनकै आधारमा विश्वसनीयता निर्माण गरेका थिए ।

संकटमा देखिएको सक्रियता, संरचनामा देखिएको परिणाम

उपमहासचिवको जिम्मेवारी सम्हाल्दा गुरुङले दूतावास, श्रम कूटनीति संयन्त्र र एनआरएनए सञ्जालबीच प्रभावकारी समन्वय गर्दै समस्यामा परेका नेपालीहरूको उद्धार, कानुनी सहजीकरण, स्वास्थ्य सहयोग तथा सामाजिक सुरक्षा अभियानमा सक्रिय भूमिका निर्वाह गरे ।

कोभिड–१९ महामारीका बेला विदेशबाट अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्री नेपाल पठाउने पहल, मध्यपूर्वमा अलपत्र परेका श्रमिकहरूको व्यवस्थापन, र आपतकालीन राहत संयोजनले उनको नेतृत्वलाई व्यवहारिक र परिणाममुखी बनायो । महाभूकम्पपछिका राहत वितरण र पुनःस्थापनामा प्रत्यक्ष सहभागिता जनाउँदै उनले “संकटमा साथ दिने एनआरएनए” को छवि सुदृढ गरेका थिए ।

गुरुङले मध्यपुर्वमा रहेर आफ्नो ब्याबसाय र सामाजिक कार्यसङ्गै नेपाली कलाकारितालाई पनि बिश्वमाझ चिनाउन सक्रिय भुमिका खेलेका छन् । उनले कतारमा नेपाल आईडलको ग्रान्ड फिनाले,द भ्वाईस अफ नेपालको ग्रान्ड फिनालेजस्ता चर्चित कार्यक्रम गराईसकेका छन् । उनले एनआरएनए सिङ्गिङ आईडल गराउनसमेत बिशेष योगदान दिएका थिए ।

मध्यपूर्वदेखि विश्वसम्म फैलिएको समर्थन

कतार, साउदी अरब, यूएई, कुवेत, ओमान र बहराइनजस्ता देशमा सक्रिय नेपाली समुदायबीच गुरुङले संस्थाप्रति अपनत्वको भावना विकास गराएका छन् । श्रमिकदेखि व्यवसायी, युवा देखि पेशागत वर्गसम्मलाई जोड्ने उनको शैलीले मध्यपूर्वमा एनआरएनएको आधार विस्तार भएको विश्लेषण गरिएको छ ।
उनलाई एशिया प्यासिफिक, अमेरिकाज र युरोपियन क्षेत्रबाट समेत व्यापक समर्थन प्राप्त भइरहेको छ । यसले उनको उम्मेदवारीलाई क्षेत्रीय सीमाभन्दा धेरै माथि उठाएर विश्वव्यापी समर्थनसहितको दाबेदारीमा रूपान्तरण गरेको छ ।

एकता, प्रत्यक्ष निर्वाचन र संस्थागत सुधारको एजेन्डा

एनआरएनएभित्र देखिएको मतभेद अन्त्य गर्दै संस्थालाई एकताबद्ध बनाउने उनको मुख्य एजेन्डा हो । ‘देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र जुधेर बस्नु हुँदैन’ भन्ने उनको स्पष्ट धारणा छ ।

प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको प्रस्तावलाई संस्थागत लोकतन्त्र सुदृढीकरणको पहलका रूपमा हेरिएको छ । पारदर्शिता, सहभागिता र जवाफदेहितालाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको उनको तर्क छ ।
 
भाषणभन्दा काम, पदभन्दा सेवा र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने कार्यशैलीका कारण प्रविन गुरुङ आज आईसीसी उपाध्यक्ष पदका लागि केवल उम्मेदवार मात्र नभई संस्थागत स्थायित्व, एकता र प्रभावकारी नेतृत्वको प्रतीकका रूपमा उभिएका छन् । उनको उम्मेदवारीलाई बिश्वले स्वागत गरेको छ ।

आगामी निर्वाचनले एनआरएनएको भावी दिशा निर्धारण गर्ने सन्दर्भमा गुरुङको उम्मेदवारीलाई मध्यपूर्वका लाखौँ नेपालीको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा संस्थागत र निर्णायक रूपमा स्थापित गर्ने अवसरका रूपमा विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार