काठमाडौं । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
केहीको अवस्था गम्भीर रहेको छ । उदयपुरगदी–७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना भएको हो । अपरान्ह १२ बजेतिर बस सडकबाट करिब ४० फिट तल खसेको थियो । घाइते हुनेहरुमा उदयपुर त्रि.न.पा. ११ की मणिका मगर, त्रि.न.पा. ७ की रेशिका बस्नेत, कटारी न.पा. ४ की अनिता चौधरी, उदयपुरगदी गा.पा. ७ की सोममाया मगर र ताप्ली गा.पा ५ का प्रकाश भुजेल रहेका छन् ।
त्यस्तै, रौतामाई गा.पा. ७ का तिलक बस्नेत, उदयपुरगदी गा.पा. टाडेका दिपेश तामाङ, कटारी न.पा. ४ की पवित्रा श्रेष्ठ, त्रियुगा न.पा. ५ की रेश्मा बस्नेत, कटारी न.पा. २ गोलपार्ककी सोममाया परियार, कटारी न.पा. ३ का नितेश बुढाथोकी, कटारी न.पा. ५ का दलबहादुर तामाङ, कटारी न.पा. ४ का प्रेम तामाङ, ताप्ली गा.पा. ५ का सुवास नेपाली, कटारी न.पा. ४ का सुजन तामाङ रहेका छन् ।
घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ ।