बुधवार, आश्विन १४ गते २०८३

राष्ट्रिय राजनीतिमा बालेनको कुनै धारणा सुनिदैन् : उपेन्द्र यादव

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय राजनीतिमा बालेनको कुनै पनि धारणा नरहेको बताएका छन् । उनले मधेशको मुद्दा के हो बालेनलाई थाहा नभएको बताएका हुन् ।

जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने, ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन् । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन्, मुद्दा के हो थाहा छैन् ।’ मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै भएको उनले दाबी गरेका छन् ।

अध्यक्ष यादवले भने, ‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन् । अलिकति सोसल मिडियाहरूमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउन्ड रियालिटी त्यस्तो देखिँदैन ।’ मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारू, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरू भएको उनले बताए । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।

पूर्वउपप्रधानमनी समेत रहेका यादवले विगत ३५ वर्ष कांग्रेस–कम्युनिस्टको नेतृत्वमा बनेका सरकारले सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा कुनै सुधार गर्न नसकेको बताए । उनले यी दुई पार्टीले अर्काको पार्टी फुटाउने काम गरेको आरोप लगाए । उनले संविधान त्रुटिपूर्ण भएको समयक्रमसँगै प्रमाणित भएकोले संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिए ।

त्यस्तै पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोश नागरिकको हत्या गर्दा आफूहरू संयमित भएर आन्दोलन अगाडि बढाएको बताए । उनले भने, ‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं ।’

कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न यादव रुपन्देही आएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार