काठमाडौं । सांसदहरुले चुनावको मुखमा दल छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जेन–जी आन्दोलनपछि कांग्रेसले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चुनेपछि आफूहरू कांग्रेसप्रति आकर्षित भएको उनीहरूको भनाइ छ ।कांग्रेस सचिवालयका अनुसार थापाले पार्टीको नेतृत्व सम्हालिसकेपछि ६ हजारभन्दा बढी सदस्यहरू थपिएका छन् ।
सचिवालय स्रोतका अनुसार रास्वपा, नेकपा एमाले, जसपा लगायत दलका गरेर लगभग ६ हजार २ सयजति नेताले सदस्यता लिएका छन् । तीमध्ये पनि १ सय भन्दा बढी केन्द्रीय स्तरकै नेता रहेका छन् । यसरी दल त्यागेर कांग्रेस प्रवेश गर्नेहरूमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीका छन् । सोमबार मात्रै रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छोडेका छन् । कांग्रेस छोडेर रास्वपालाई स्थापनाकालदेखि नै साथ दिँदै आएका पराजुली चुनावको मुखमै रास्वपा छाडेर कांग्रेसमै फर्किएका हुन् ।
२०७९ को निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बन्दा उनले १२ हजारभन्दा बढी मत ल्याएका थिए । उतिबेला सीमित नेताको स्वार्थमा पार्टी सिद्धान्तबाट विचलित भएको कारण आफूले कांग्रेस छाडेको उनको भनाइ छ । अहिले कांग्रेस सुध्रिएकोले फर्केको उनले बताएका छन् । पराजुलीसँगै मकवानपुर–२ का संघीय सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक निराजन बर्तौला र युवा नेता राममणि न्यौपाने पनि रास्वपा छोडेर कांग्रेस फर्किएका छन् ।
एमाले छाडेर बसेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेतालाई सभापति थापाले कांग्रेसमा स्वागत गरे लगत्तै एमालेबाट अरु पनि कांग्रेस प्रवेस गर्ने क्रम बढेको छ । एमालेका पूर्व केन्द्रीय सदस्य तथा रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेस प्रवेश गरेका छन् । उनले एमालेमा लामो समय बिताएका थिए । तर अहिले पार्टीमा व्यक्तिवाद हाबी भएको र योगदानको अवमूल्यन भएको भन्दै पार्टी परिवर्तन गर्ने निर्णय लिएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र जीवित रहेको र गगन थापा जस्ता युवा नेताहरूको उदय नयाँ राजनीतिक पुस्तान्तरणका लागि चालिएको एउटा बाध्यकारी कदम भएको बताएका उल्लेख गरेका छन् । ढकालले कांग्रेस उम्मेदवार मोहन आचार्यलाई विजयी बनाउन रसुवाली जनतालाई अपिल समेत गरेका छन् । उनीसँगै रसुवाका ७८ जना एमाले नेता–कार्यकर्ता एकैचोटि एमाले छोडेर कांग्रेस प्रवेश गरेका हुन् । जसले गर्दा एमालेलाई रसुवामा निर्वाचनको समयमा ठूलो धक्का पुगेको छ ।
उता रास्वपाकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्माले पनि राजीनामा दिएर कांग्रेस रोजेकी छन् । निर्वाचनका सन्दर्भमा रास्वपाले अवलम्बन गरेको पद्धति र निर्णयहरू रास्वपाको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत रहेको उनको उनको भनाइ रहेको छ । उनले पार्टीभित्र विधि र विधान विपरीत क्रियाकलापहरू बढेको उल्लेख गर्दै संगठनमा खटिएका क्षमतावान सदस्यहरूको उचित मूल्याङ्कन नभएको गुनासो गरेकी छन् ।
उनी २०७९ को साउनमा रास्वपामा लागेकी थिइन् । अहिले उनी नेपाली कांग्रेसबाट सदस्यता लिएर चुनावी प्रचार–प्रसारमा लागेकी छन् । यस्तै रास्वपाका केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा, एमाले पूर्वमन्त्री रामवीर मानन्धरलगायत धेरै जनाले निर्वाचन नजिकिँदै गर्दा कांग्रेस रोजेका छन् ।