काठमाडौँ, फागुन १२ गते
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विशेष कक्षा सुरु गरेको छ ।
पहिलो चरणमा ६ वटा विद्यालयमा यस्तो कक्षाको सुरुवात गरिएको महानगरपालिकाले जनाएको छ । गत वर्षहरुका लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । कुल ११ वटा विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गर्ने योजना महानगरपालिकाको छ ।
यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक, सेवा निवृत्त शिक्षकहरुले पढाउनेछन् ।
न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछन् ।
यी विद्यालयहरुका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो ।
महानगरपालिकाका शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार यस वर्ष महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट करिव ४ हजार ५५७ जना विद्यार्थी एसइईमा सहभागी हुनेछन् ।
पछिल्ला वर्ष महानगरपालिकाले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयको पढाईको स्तर सुधार्न पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यालयहरुको शैक्षिक वातावरणमा सुधार ल्याएको छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि योगदान गर्ने कार्यक्रम हुन् ।
२०८१ को एसइईमा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । यसमा १७ जनाले ४ जीपीए पाए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो ।
त्यस वर्ष (२०८०) मा ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । २०८१ सालको परीक्षामा ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना थियो । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना थिए ।