काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा मादक पदार्थ सेवन गरेर हल्ला गर्ने, राजनीतिक दल तथा उम्मेदवारले मादक पदार्थ सेवन गर्न लगाएर मतदातालाई प्रभावित पार्ने लगायतका सम्भावित गतिविधिलाई रोक्न आयोगले यस्तो निर्णय गरेको हो ।
आफ्नो निर्णय अनुसार आवश्यक सहजीकरण र समन्वयका लागि आयोगले सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट यि निर्णयहरु गरिएको हो ।
बैठकले निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न देहायबमोजिमका निर्णय भई सोही अनुसार व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध गर्ने तथा यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
साथै, जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने निर्णय पनि आयोगले गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।