काठमाडौँ । निर्वाचन आयोगले गत २३-२४ भदौको ‘जेनजी आन्दोलन’ सम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
बीबीसीको उक्त भिडिओ रिपोर्ट हटाउनका लागि बिहीबार काउन्सिललाई पत्र पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बीबीसी आई इन्भेस्टिगेसनले ‘शट लाइक एनिमिज’ शीर्षकमा करिब ४२ मिनेटको डकुमेन्ट्री सार्वजनिक गरेको थियो ।
बीबीसीको रिपोर्टमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पिटर १’ नामक कल साइन प्रयोग गरी प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको ‘पुलिस रेडियो लग’ समेत सार्वजनिक गरिएको छ ।
डकुमेन्ट्रीमा विद्यालयको पोसाकमै रहेका १७ वर्षीय श्रीयम चौलागाईं, ३४ वर्षीय विनोद महर्जन लगायत निशस्त्र युवाहरूमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएको दृश्य र प्रमाणहरू देखाइएको छ ।
डकुमेन्ट्रीमा २३-२४ भदौको हिंसात्मक प्रदर्शन, सुरक्षा निकायले गरेको बल प्रयोग र त्यस क्रममा भएका ७७ जनाको मृत्युबारे विस्तृत अनुसन्धान गरिएको दाबी गरिएको छ ।