काठमाडौं । निर्वाचन आयोगले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ मा रहेको श्री माध्यमिक विद्यालयका शिक्षक दिपनारायण ठाकुरलाई पनि विभागीय कारवाही गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
ठाकुरले राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेको बताउँदै आयोगले शक्षा ऐन २०२८ बमोजिम विभागीय कारबाही गरी आयोगमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
यसअघि निर्वाचन प्रचारको क्रममा आचारसंहिता विपरित हुने गतिविधि गरेको प्रमाणसहित आयोगमा ठाकुरविरुद्ध उजुरी परेको थियो ।
यसैगरि आयोगले वन तथा वातावरण मन्त्रालय अन्तर्गत ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीलाई विभागीय कारवाही गर्ने निर्णय आयोगले गरेको छ ।
चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक भाषामा अभिव्यक्ति दिई निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेको आयोगले जनाएको छ ।
चौधरीलाई विभागीय कारबाही गरी सोको जानकारी आयोगमा गराउ पनि आयोगले भनेको छ । आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचन स्वच्छता प्रवर्धनमा सहयोग गर्न आयोग राजनीतिक दल, उम्मेदवार तथा सबै सरोकारवाला व्यक्ति, संस्था, निकाय तथा अधिकारीहरूलाई आग्रह गरेको छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोग क्रियासिल रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया पनि जारी राखेको छ ।