बुधवार, आश्विन १४ गते २०८३

महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति

घृणाको राजनीति नगर्न आग्रह

शुक्रवार , फाल्गुण १५, २०८२

झापा । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन् ।  

सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् । 

घिमिरेले आज जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख गरेका छन् । सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै घिमिरेले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे । 

केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताए ।  अहिले उक्त भिडियो अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको छ ।

“कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,” विज्ञप्तिमा घिमिरेले भनेका छन् ।

आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उनको भनाइ छ ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दुखद भएको घिमिरेले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार