बुधवार, आश्विन १४ गते २०८३

रास्वपालाई बदनाम गराउन रचिएको नक्कली पत्रले खैलाबैला, कुन कुन मिडियाले मागे माफी

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले हस्ताक्षर गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको भनेको पत्र नक्कली रहेको पुष्टि भएको छ । 

केहि सञ्चार माध्यम तथा सञ्चारकर्मीले उक्त पत्रलाई आधार मानेर ब्रेकिङ भन्दै समाचार सम्प्रेषण गरेपछि रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले पत्रबारे आधिकारिक धारणा सार्वजनिक गरेका थिए ।
 
दुइ जनाको हस्ताक्षर गरेर पठाइएको भनिएको सो पत्र नक्कली रहेको खनालले विज्ञप्तिमार्फत जानकारी गराएपछि सोही पत्रलाई आधार मानेर समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमले क्षमा माग्दै समाचार हटाएका छन् ।

यसरी समाचार हटाउनेमा नेपाल प्रेस, जन आस्था लगायतका अनलाइन सञ्चा माध्यम छन् ।

जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस लगायत केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको उल्लेख गरिएको छ ।

दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य भएको पनि विज्ञप्तिमा भनिएको छ ।
 
‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको द्विपक्षीय सम्बन्धमा खलल पु¥याउने उद्देश्यले यस्ता प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
 
‘अतः हामी सम्पूर्ण सञ्चारकर्मी, पत्रकार मित्रहरू तथा सञ्चार गृहहरूलाई यस्ता संवेदनशील र राष्ट्रिय महत्त्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न र जिम्मेवार बन्न हार्दिक अनुरोध गर्दछौं।

द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि समा निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न सर्व साधारणलाई अनुरोध गर्दै यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन रास्वपाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार