बुधवार, आश्विन १४ गते २०८३
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

मतदानको दिन यि सवारी साधनले लिनुपर्दैन निर्वाचन आयोगबाट अनुमति

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन आवश्यकताका आधारमा केहि क्षेत्रका सवारी साधनले आयोगको अनुमति पत्र नलिइ सवारी सञ्चालन गर्न पाउने भएका छन् ।  

आयोगले शनिबार यस विषयमा निर्णय गरेको हो । आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनले आयोगबाट अनुमति पत्र नलिइ आवातजावात गर्न सक्नेछन् ।

त्यस्तै, दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधनहरू अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्नको लागि प्रयोग गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ सेवाका यात्रु बोकेका सवारीसाधनले विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म आवातजावात गर्न पाउनेछन् । 
त्यस्तै, हिडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्करी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि आवातजावातमा रोक नलगाइने आयोगका प्रवक्ता नारायण भट्टराईले बताए ।


प्रवक्ता भट्टराईका अनुसार नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन÷पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि निर्वाद रुपमा आवातजावात गर्न सक्नेछन् । 

अहिले निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भएको छ ।

 आयोगका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पास समेत सोही डेस्कबाट जारी भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार