काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन्। यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए।’
इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो। जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए।
रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै इरानका सर्वोच्च नेता मारिएको दाबी गरेको छ। खामेनीको शव हवाई आक्रमणपछि भग्नावशेषमुनि फेला परेको थियो। ८६ वर्षीय खामेनी इरानका सेनापति (कमान्डर इन चिफ) हुन्।
१९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बनेका थिए। खामेनीले १९७९ को क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्यो।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खमेनीको मृत्यु भएको संकेत देखिएको बताएका थिए।
इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलले गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्ति मारिएको र ७४० भन्दा बढी घाइते भएको बताएको छ।