काठमाडौं । प्रतिनिधि सभा निर्वाचन, २०८२ को मतदान प्रयोजनको लागि निर्वाचन आयोगले भोली सोमबार राती १२ बजेदेखि मौन अवधि लागु गर्दैछ ।
यो अवधि मतदान हुने अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।
आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ । जस अनुसार निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाईदैन ।
त्यस्तै, मतदान हुने दिनको अठचालिस घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन ।
आर्टिफिसियल इन्टिलिजेन्स (ए.आइ.) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि नहुने आयोगले जनाएको छ ।
आयोगले मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण पनि तोकेको छ ।
मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नहुने आयोगले जनाएको छ ।
निर्वाचनलाई नै असर पर्नेगरि कुनै उम्मेदवारले गतिविधि गरेमा उसको मनोनयन पत्र नै खारेज पनि हुनसक्ने निर्वाचन आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन पत्र नै खारेज भयो भने सम्बन्धित उम्मेदवारले अर्को ६ वर्षसम्म चुनावी प्रतिस्पर्धामा भाग लिन पाउनुहुन्न । यो भनेको १२ वर्ष पछि धकेलिनु हो ।
किनकी ६ वर्ष भाग लिन नपाउनु भनेको अब आउने निर्वाचनमा पनि भाग लिन नपाउनु हो । त्यसपछि अर्को निर्वाचन भनेको त १२ वर्षपछि मात्रै हुन्छ । यस्तो जोखिम मोलेर उम्मेदवारले गैर कानुनी गतिविधि गर्न नहुने भण्डारीले बताउनुभयो ।