बिर्तामोड । नेकपा एमालेका झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरेले आफ्नो विजय सुनिश्चित भएको दाबी गरेका छन् । सोमबार प्रेस चौतारीले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा निवर्तमान सभामुख समेत रहेको घिमिरिेले आफू चुनावी परिणामको पर्खाइमा मात्र रहेको बताए ।
घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको रेस्पोन्स, ठाउँ ठाउँमा गरिएका स्वागत, एमालेमाथिको बढ्दो भरोसा र दरिलो संगठनका कारण मेरो जित सुनिश्चित भएको निष्कर्षमा पुगेको छु– पत्रकार सम्मेलनमा घिमिरेले भने ।
२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट २८ हजार ६ सय ९७ मत प्राप्त गरी निर्वाचित भएका घिमिरे दोस्रोपटक यो क्षेत्रबाट उम्मेदवार भएका हुन् ।
कार्यकाल पूरा नहुँदै जेनजी आन्दोलनका क्रममा संसद विघटन भएपछि आफूले थालेका कामहरु अझै अधुरा रहेको र त्यसलाई पूरा गर्न पनि आफ्नो आवश्यकता रहेको घिमिरेको दाबी छ ।
’यो निर्वाचन केवल एउटा चिन्हमा छाप लगाउने कुरा मात्र होइन । बरु देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर पनि हो’, पत्रकार सम्मेलनमा निवर्तमान सभामुख घिमिरेले भने ।
राजनीतिलाई उमेरका आधारमा पुरानो वा नयाँ भनेर वर्गीकरण गर्नु केटाकेटीपन भएको टिप्पणी गर्दै एमाले उम्मेदवार घिमिरेले जीवन्त पार्टीहरु समयानुकूल अध्यावधिक हुने र नेकपा एमालेले यसमा आफूलाई आधुनिक र गतिशील प्रमाणित गर्दै आएको बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भएको वैचारिक र राजनीतिक घेराबन्दीलाई चिर्न र मुलुकको सार्वभौम सत्ता जोगाउन एमालेलाई विजय गराउनु अपरिहार्य रहेको उनले बताए ।
आफू निर्वाचित भएपछि तीन वर्षको अवधिमा साढे ५ अर्ब बराबरको बजेट झापा क्षेत्र नम्बर २ मा भित्र्याएको जनाउँदै घिमिरेले अधुरा रहेका विकास योजनालाई पूरा गर्न समेत आफ्नो आवश्यकता रहेको बताए ।