काठमाडौं । लालीगुराँस मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसवुक पेज मार्फत अयन्त्रको फोटोलाई सम्पादन गरी पार्टी सभापनि गगनकुमार थापाको तस्बिर प्रयोग गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
थापाको तस्बिर सम्पादन गरी नेपाली कांग्रेसलाई बद्नाम गराउने मनसायका साथ भ्रामक र कपोलकल्पित सामाग्री प्रकाशन गरेको कांग्रेसले जनाएको छ ।
यस प्रकारका आधारहीन र भ्रम फैलाउने सामग्रीले आम नागरिकलाई दिग्भ्रमित पारेको पार्टीका केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
लालीगुराँस मिडियाको उक्त कार्यबाट निर्वाचन सम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको पनि कांग्रेसले जनाएको छ ।
यो विषयमा आवश्यक छानबिन गरी प्रचलित कानून बमोजिम उक्त संस्थालाई हदैसम्मको कारवाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई कांग्रेसले आग्रह गरेको छ ।
साथै ति दुवै निकायलाई यस विषयमा आजै लिखित रुपमा जानकारी गराइएको पनि विज्ञप्तिमा जनाइएको छ ।