आइतवार, श्रावण २४ गते २०८३
अन्तर्राष्ट्रिय महिला दिवसमा प्रधानमन्त्री

‘राष्ट्र निर्माणमा महिलाको सहभागिता सुनिश्चत गर्नु आजको आवश्यकता’

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिला लगायत विकासको मूल धारबाट पछि परेको वर्गलाई मूल धारमा ल्याउनु आजको मुख्य आवश्यकता रहेको बताएकी छन् । 

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले अवसर र स्रोतहरुमा पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा प्रत्येक नागरिकको सम्मानयुक्त सहभागिता जनाउन पाउनु आजको मुख्य अभिष्ट हुनुपर्ने  बताइन् ।  

“राइट, जस्टिस, एक्सन फर अ वोमन एण्ड गर्ल” भन्ने अन्तर्राष्ट्रिय नारा तथा   “सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ” भन्ने राष्ट्रिय संकल्पका साथ ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि आइतबार विविध कार्यक्रमका साथ मनाइँदैछ । 

मन्तव्य मार्फत प्रधानमन्त्री कार्कीले यस ऐतिहासिक अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।  
प्रधानमन्त्री कार्कीले भनिन्, “अन्तर्राष्ट्रिय महिला दिवस एउटा उत्सवको दिन मात्र होइन । यो त महिलाको अधिकार, समानता र सम्मानका लागि गरिएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन हो ।”

यो दिवस विगतका उपलब्धिहरूको समीक्षा गर्ने, अपूर्ण कार्यहरूको पहिचान गर्ने र समतामूलक समाज निर्माणका लागि नयाँ संकल्प गर्ने दिन रहेको पनि प्रधानमन्त्री कार्कीको भनाई छ । 


भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको  मत परिणाम आउने क्रम जारी रहेको बताउँदै उनले यो निर्वाचन सामान्य र नियमित तालिकाभित्रको प्रक्रिया नभई विशेष अवस्थामा गरिएको निर्वाचन रहेको पनि बताइन् । 

अहिलेको कठिन परिस्थितीमा यो निर्वाचन भएको र  यसले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक तरिकाबाट निकास दिन सकेका बताउँदै प्रधानमन्त्री कार्कीले भन्,ि “यो सानो उपलब्धि होइन । वास्तवमा यो नेपाली जनताको विजय हो । नेपाल राष्ट्रको विजय हो । यो संविधानको विजय हो । लोकतन्त्र र कानुनी शासनप्रतिको नेपाली जनताको अटल आस्थाको विजय हो । ”

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण नेपाली जनता, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलतथा उम्मेदवारहरू तथा देश–विदेशबाट आउनुभएका पर्यवेक्षकहरूप्रति पनि प्रधानमन्त्री कार्कीले आभार प्रकट गरिन् । 

“लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा होइन, यो नागरिकको आत्मसम्मानको प्रतीक हो । लोकतन्त्रमा मूल शक्ति जनता हुन् । जनता नै सर्वोपरिहुन्” प्रधानमन्त्री कार्कीले भनिन्, “तसर्थ निर्वाचित जनप्रतिनिधिहरुले सदैव के हेक्का राख्नुपर्छ भने एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी हुँदैन ।”


राज्य सञ्चालन गर्नेहरूले जनताको समर्थन र विश्वास आर्जन गर्दै अगाडि बढ्नुपर्ने पनि प्रधानमन्त्री कार्कीले बताईन् । जनतालाई अपमान गर्ने, हियाउने वा शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल नखाने बताउँदै उनले लोकतन्त्रमा कुनै पनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिनुपर्ने बताईन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार