बुधवार, आश्विन १४ गते २०८३

निर्वाचन सम्बन्धि काम चैत ५ भित्र सकिने

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचन सम्बन्धि सम्पूर्ण कार्य चैत ५ गतेभित्रमा सम्पन्न गरिसक्ने तयारी गरेको छ । सोही अनुसार काम गरिरहेको आयोगले जनाएको छ ।

फागुन २१ गते मतदान सम्पन्न भएपछि आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सुरु गरेको थियो । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै तत्कालै सम्बन्धित क्षेत्रबाट समानुपातिकतर्फको मतगणना सुरु गरेको थियो । मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मतगणना स्थलमा भइरहेको छ । 

आइतबार साँझसम्म प्रत्यक्ष तर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगका प्रवक्ता नारायाण भट्टराईले बताउनुभयो । सोमबार दिउसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको भट्टराईले बताउनुभयो । 

समानुपातिक तर्फ खसेको १ करोड ९ लाख मत मध्ये आइतबार साँझसम्म ५० लाख (करीब ४६ प्रतिशत) को मतगणना सम्पन्न भएको छ । फागुन २७ गते बिहान सम्म समानुपातिक तर्फको सबै मत गणना भइसक्ने आयोगले जनाएको छ ।
समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गरिनेछ । आयोगले निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । 

दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने योजना आयोगले बनाएको छ । प्रवक्ता भट्टराईले भन्नुभयो, ‘ यि सबै कार्य २०८२ साल चैत्र ५ गते भित्र सम्पन्न गरिसक्ने लक्ष्य सहित आयोगले काम गरिरहेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार