काठमाडौँ । महिलाको नाममा घरको नक्सा बनाउँदा निश्चित प्रतिशत राजस्व छुट दिने काठमाडौँ महानगरपालिकाले तयारी गरेको छ ।
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘पावर इन एक्सन ः हर टाइम इज नाउ’ शीर्षकको अन्तरसंवाद कार्यक्रममा महानगरपालिकाकी कार्यवाह प्रमुख सुनिता डंगोलले यसबारेमा जानकारी गराएकी हुन् ।
महिलाका नाममा स्वीकृत हुने भवन नक्सामा छुट दिने प्रस्ताव आगामी नगर सभाको बैठकमा लिएर जाने सो अवसरमा डंगोलले जानकारी गराईन् । उनले भनिन्, ‘कानुनबाट विधि स्थापित गर्ने, उद्यमशीलताबाट आर्थिक सशक्तिकरण गर्ने, सेवा सहजताबाट पहुँच स्थापित गर्ने दिशामा हामी क्रियाशील छौँ ।’
आवश्यकताका आधारमा नयाँ कानुन तर्जुमा गर्ने बताउँदै डंगोलले घरमै बसेका गृहिणी महिलालाई आय आर्जनमा जोड्ने कार्यक्रमको कार्यविधि तर्जुमा गरिने पनि जानकारी दिईन् ।
उक्त कार्यक्रम विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरुका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न आयोजना गरिएको हो ।
कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले, आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा कानुनी व्यवस्था र व्यवहारिक अवस्थाका बिचमा खाडल रहेको उल्लेख गरिन् ।
महिलाहरुका लागि जारी गरिएका कानुनी व्यवस्थाको महिलाहरुलाई पर्याप्त जानकारी नभएकोले महानगरपालिकाले यस्ता कानुनी प्रबन्धका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मल्लको भनाई थियो ।
‘न्यायिक समिति संरचना मात्र होइन । यो न्यायिक विकेन्द्रीकरणको प्रयोग गरेर नागरिकलाई सहज न्याय प्राप्त गर्न सकिन्छ भन्ने महसुस गराउने स्थान पनि हो । यसबाट नागरिकमा छिट्टै न्याय दिन सकिन्छ ’ मल्लले भनिन् ।
कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले आफू निजामती सेवामा प्रवेश गर्दा काम गर्ने कार्यालयमा महिलाका लागि शौचालय समेत नभएको अनुभव सुनाइन् ।
शौचालयको लाग अर्को कार्यालयमा जानुपर्ने अवस्था रहेको बताउँदै गड्तौलाले भनिन्, ‘कानुन पढेर भोलि के हुन्छ भन्ने नजानी बुबा र दाजुले पढ भनेका भरमा पढेकी हुँ । निजामती सेवामा प्रवेश गरेर मुख्य सचिवसम्म पुग्दा भनेर नसकिने कथा छन् । हिजोका ती कथा आज उस्तै छैनन् । स्वरुप फेरिएको छ । संघर्ष यथावत् छ ।’
महानगरपालिकाले विगतमा गरेका सफल र असल अभ्यासलाई संस्थागत गरेर नवप्रवर्तनमा आधारित थप कार्यक्रममा काम भइरहेको महानगरपालिकाको वडा नं. १६ का अध्यक्ष रोजिना श्रेष्ठले उल्लेख गरिन् ।
सार्वजनिक सेवा प्रसारण नेपालका नायव महाप्रबन्धक आरती चटौतले कामका लागि घरबाट बाहिर निस्कन आवाज उठाउने अग्रणी महिलाहरुलाई प्रेरणाका स्रोत मान्नुपर्ने बताईन् ।
कार्यक्रममा वातावरणविद सञ्जीवनी योञ्जनले, आफूले जीवनमा कहिल्यै पनि केटी भएर नसोचेको बताउँदै सहअस्तित्वमा आधारित सामाजिक संरचना निर्माण गर्नु पर्नेमा जोड दिइन् । महिला प्रजनन स्वास्थ्य अधिकारकर्मी डा. गरिमा श्रेष्ठले, समान समस्या भएका व्यक्तिहरुको समुदाय निर्माण भएपछि नेतृत्व विकास प्रभावकारी हुने बताइन् ।
कार्यक्रममा कम्प्युटर बैज्ञानिक डा. दोभान राईले, कृतिम वौद्धिकताले महिलाहरुमा पार्न सक्ने जोखिमका विषयमा संवेदनशील हुनु पर्ने बेला आएको उल्लेख गरिन् ।
अनुसन्धाता डा. रामदेवी ताचामो शाहले, परिवारको सहयोगबाट आफूले अहिलेको स्थान प्राप्त गरेको उल्लेख गर्दै परिवारलाई लैङ्गिमैत्री अवधारणा बुझाउन सकियो भने अहिलेका धेरै समस्या, उत्पत्ति हुने ठाउँमै समाधान हुने बताइन् ।
अपाङ्गता अधिकारीकर्मी रेवती कार्कीले, नकारात्मक अभिव्यक्तिले अपाङ्गता भएका व्यक्तिभित्र रहेको क्षमता प्रयोग हुन नसक्ने अवस्थामा पुगेको अनुभूति सुनाइन् । यो अवस्थालाई सरकारले गहिरो रुपमा बुझेर नीतिगत, कार्यक्रमगत तथा सामाजिक सुधारको अभियानका रुपमा कार्यान्वयनमा लैजानुपर्ने कार्कीको सुझाव छ ।
पर्वतारोही पूर्णिमा श्रेष्ठले, उमेर पुगेपछि महिला विवाहका लागि मात्र नभएर अन्य विभिन्न क्षेत्रमा योगदान दिन पनि योग्य हुने कुरा बुझाउन जरुरी रहेको उल्लेख गरिन् ।
।
महानगरपालिकाको सरसफाइ कर्मचारी रमिला पोडेले, सरसफाइमा काम गर्ने श्रमिकलाई समाजबाट सम्मान प्राप्त हुन नसकेकोमा दुःख व्यक्त गरिन् । अन्तरसंवादमा ११ जना वक्ताले विचार राखेका थिए ।
महिला दिवस अवसरमा महानगरपालिकाका महिला लक्षित सेवा तथा कार्यक्रमहरुमा, न्यायिक सहजकर्ताको भूमिका, महिला सञ्जालका काम, मेलमिलापको अभ्यास, न्यायिक चौतारीका विषयमा जानकारी तथा ‘एक वडा ः एक नमूना उद्यम कार्यक्रम’अन्तर्गतका पौरखी महिलाहरुको प्रतिनिधिमूलक जीवन्त कला प्रदर्शनी गरिएको थियो ।
यस्तै नेपालको महिला आन्दोलन तथा अधिकार प्राप्तिका लागि भएका संघर्षका उदाहरणीय महिला नेतृहरुका विषयमा विवरण प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमका बारेमा सहभागीहरुबाट पृष्ठपोषण दिन क्युआरमा आधारित प्रश्नावली उपलब्ध गराइएको थियो ।