बुधवार, आश्विन १४ गते २०८३

रास्वपाको बहुमतसँगै शेयर बजारमा हरियाली, ६ प्रतिशत बढेपछि आजको कारोबार बन्द

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । रास्वपाको बहुमतसँगै शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि शेयर बजारको सोमबारको कारोबार स्थगित भएको छ ।

चुनावी परिणाम अन्तिम चरणमा आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने पक्कापक्की भएसँगै लगानीकर्तामा पनि उत्साह छाएको हो । 

सोमबार कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । त्यतिखेर नेप्से सुचक चार प्रतिशत बढेको थियो । पहिलो सर्किट ब्रेकपछि २० मिनेटपछि कारोबार खुलेको थियो । दोस्रो पटक खुलेको कारोबारमा पनि एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । 

पहिलो कारोबारमा चार प्रतिशत बढेको थियो भने दोस्रो कारोबारमा थप एक प्रतिशत बढेर पाँच प्रतिशत भएपछि सर्किट लागेको थियो । पहिलो कारोबारमा एक १०८ प्रतिशत बढेको नेप्से दोस्रो कारोबारमा १३५ अंक बढेको छ । पहिलो सर्किट ब्रेक लागेको २० मिनेटपछि खुलेको थियो । दोस्रो सर्किट लागेको ४० मिनेटपछि अर्थात १२ बजेर एक मिनेट गएपछि तेस्रो कारोबार भएको थियो । 

तेस्रो कारोबार सुरु भएको एक मिनेटमै नेप्से ६ प्रतिशत बढेपछि सोमबारको लागि कारोबार बन्द भएको हो । 

कस्तो अवस्थामा लाग्छ शेयर बजारमा सर्किट ?

२०६४ अघि शेयर बजारमा एकैदिन जति पनि घटबढ हुनसक्ने व्यवस्था थियो । यो व्यवस्थापछि एकै दिनमा नेप्से परिसूचक ६ प्रतिशत भन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमामात्रै होइन सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरुमा समेत लगाएको छ । कुनै कम्पनीको शेयर मूल्य १० प्रतिशत घटबढ भएमा सर्किट ब्रेकर लगाइन्छ ।

एकैदिन कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन सक्दैन । मानौं, ‘ए’ भन्ने कम्पनीको शेयर मूल्य १ सय रुपैयाँ छ । यो कम्पनीको शेयर मूल्य ११० रुपैयाँको विन्दुमा पुगेमा सर्किट ब्रेकर लाग्छ । घट्दा पनि सोही किसिमले १० प्रतिशतबाट घटेर ९० मा झर्न सक्छ । तर एकैदिन एक सयबाट घटेर ८९ रुपैयाँमा झर्दैन । कम्पनीको मूल्यमा सर्किट लाग्दा अरु कम्पनीको कारोबार भने रोकिदैन ।

कसरी हुन्छ कारोबार बन्द ?

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार